हाडजोर्नी, कुरकुरे हड्डी, नसा, धमनी, मांसपेसीलगायतमा हुने क्यान्सरलाई सार्कोमा भनिन्छ । यो निकै असाधारण प्रकारको क्यान्सर हो । तंथ्याकअनुसार शरीरमा हुनसक्ने सबै क्यान्सरमध्ये एक प्रतिशत क्यान्सर मात्र सार्कोमा हुन्छ । यो अरु क्यान्सरजस्तै बुढ्यौलीमा मात्र नभएर जुनसुकै उमेरमा पनि लाग्न सक्छ । बाल्यावस्था तथा युवावस्थामा हुने क्यान्सरमध्ये पन्ध्र प्रतिशत सार्कोमा हुन्छ ।
लक्षणहरु
सार्कोमा प्रायः शरीरमा छिटो बढ्ने गिर्खाको रुपमा देखापर्छ । कहिलेकाहीं यो वर्षौंदेखि एकै आकारको भएर पनि बस्न सक्छ । सामान्यतया शरीरमा भएका साना, छालाको ठीक मुनि, दुइ औंलाको बीचमा उठाउन र चलाउन सकिने गिर्खा प्रायः क्यान्सररहित नै हुन्छन् । त्यस्तै सहजै उठाउन वा चलाउन नसकिने, तीन औंलाभन्दा ठूलो र ठोस आकार ठम्याउन नसकिने वा छिटो बढ्ने गिर्खाहरु सार्कोमा हुनसक्छन् । यस्ता गिर्खा देखिएमा डाक्टरसँग जाँच गराउनु आवश्यक हुन्छ ।
हामी मध्ये कतिपयले यस्ता गिर्खालाई बोसोको डल्ला वा व्यायामले बढेको मांसपेसी भनी वास्ता नगरेका हुनसक्छौं । दुखाइ खासै नहुने भएकाले पनि हामी यस्ता गिर्खाको उपचारतिर लाग्दैनौं । कतिपय अवस्थामा त चिकित्सक पनि बोसोको डल्ला वा सिस्ट ठानेर त्यस्ता गिर्खालाई विना कुनै अनुसन्धान निकालिदिन्छन् । प्याथोलोजी रिपोर्टमा सार्कोमा आएपछि वा गिर्खा पुनः पलाएर आएपछि मात्रै चिकित्सक सतर्क हुन्छन् । शुरु अवस्थामा सानो शल्यक्रियाबाट सुल्झिने समस्यालाई पछि जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आउनसक्छ । कतिपय अवस्थामा हातखुट्टा बचाउन नसकिने स्थिति पनि आउन सक्छ ।
हड्डीमा भेटिने क्यान्सर प्रायजसो युवा अवस्था वा बाल्य अवस्थामा छिटो बढ्ने गिर्खाको रुपमा देखिन्छ । यसले हड्डी खोक्रो गराई भाँचिन सक्ने सम्भावना हुन्छ र शरीरका अरु भागमा पनि छिटो फैलिने भएकाले शंका लाग्नासाथ विना कुनै विलम्ब बिरामीलाई सम्बन्धित चिकित्सककहाँ पु¥याउनु आवश्यक छ ।
कारण र रोकथाम
कुनै रोगको उपचारमा गरिएको रेडियसनको हानीले कालान्तरमा सार्कोमा गराउन सक्छ । यसबाहेक प्राय सार्कोमा विना कुनै कारण देखापर्छ । कुनै–कुनै असाधारण सिन्ड्रम रोगमा वाहेक यो वंशाणुगत हुँदैन । यो सरुवा रोग पनि होइन । खानपिन वा जीवनशैलीका कारण पनि यो रोग लाग्दैन । सूर्तिजन्य पदार्थ सेवन, धुमपान र मध्यपानसँग पनि यो क्यान्सरको खासै सम्बन्ध भएको पाइदैन । त्यसैले अन्य क्यान्सर झैं सार्कोमा रोकथाम गर्न भने सकिदैन । तर सचेतना अपनाउने र समयमै सही उपचार सुरु गर्न सक्यौंँ भने यसलाई निर्मुल पार्ने सम्भावना भने प्रशस्तै हुन्छ ।
कुनै पनि शंकास्पद ठुला साना गिर्खालाई पहिले बिस्तृत रुपमा जाचिंछ ।
यसबाट सो गिर्खा कुन लीयरबाट उत्पन्न भएको हो र सो गिर्खाको आकारका बारेमा अनुमान गर्न सकिन्छ । जब सार्कोमा हुन सक्ने सम्भावना अत्याधिक हुन्छ हामी प्रायः एमआरआई गराउँछौं । एमआरआईबाट कतिपय गिर्खा क्यान्सर हो होइन भनी शल्यक्रिया वा बायोप्सीविना नै पत्ता लगाउन सकिन्छ । यदि क्यान्सर हो रहेछ भनेपनि कस्तो खालको र कति फैलिएको छ भन्ने कुरा पनि एमआरआईबाट थाहा हुन्छ । एमआरआईबाट शल्यक्रियामा कुन मांसपेसी, नसा, धमनी बचाउन सकिन्छ वा काट्नु पर्ने हुन्छ सो बारेमा पनि आँकलन गर्न सकिन्छ । यसपछि गिर्खाको सानो शल्यक्रिया गरी बायोप्सी गरिन्छ, जसबाट सो गिर्खामा क्यान्सर छ÷छैन भनी निक्र्यौल गर्न सकिन्छ ।
सार्कोमा भए के गर्ने ?
कुनै गिर्खा सार्कोमा भएको पुष्टि भएपछि पहिला सो क्यान्सर शरीरका अन्य भागमा फैलिएको छ कि छैन भनी अनुसन्धान गरिन्छ । यस अर्थमा सार्कोमा अरु क्यान्सरभन्दा अलि फरक हुन्छ । अरु क्यान्सर झैं यो कलेजोमा नभई सिधै फोक्सोमा फैलिन्छ । मोटामोटी रुपमा भन्नुपर्दा हड्डीमा हुने र मासुमा हुने सार्कोमाको उपचार भिन्न हुन्छ । तर दुवै अवस्थामा रोग पूर्ण निर्मूलीकरण गर्न शल्यक्रिया अनिवार्य हुन्छ ।
हड्डीको सार्कोमा पुष्टि भएपछि बिरामीलाई केही हप्ता केमोथेरापीमा राखिन्छ, शल्यक्रिया गरिन्छ र केही हप्तापछि पुनः केमोथेरापी सुरु गरिन्छ । मासुको सार्कोमाका बिरामीलाई भने कि त शल्यक्रिया मात्र गरिन्छ कि त शल्यक्रियासँग रेडियोथेरापी पनि दिइन्छ । सार्कोमाको शल्यक्रिया गर्दा क्यान्सर फेरि दोहोरिएर नआओस् भनी विशेष सतर्कता अपनाइन्छ । जसमा क्यान्सरसँगै छेउको नर्मल टिस्युलाई मार्जिनका रुपमा लिनु आवश्यक हुन्छ । क्यान्सरले ग्रसित हड्डीलाई निकालेर कृत्रिम जोर्नी राख्ने कामदेखि लिएर क्यान्सरले ग्रसित रगतका धमनी वा नशासमेत कृत्रिम रुपमा बनाउनुपर्ने हुन्छ ।
के सार्कोमा निर्मूल गर्न सकिन्छ ?
पश्चिमेली देशको तथ्यांक हेर्ने हो भने हातखुट्टाको सार्कोमाबाट ग्रसित हरेक १० बिरामीमध्ये ९ जनाको उपचारपछि रोग निर्मुल हुने गरेको पाइन्छ । हरेक ५ बिरामीमध्ये मात्र एक जनाको हात या खुट्टा बचाउन नसकिने अवस्था आउँछ । यदि क्यान्सर अरु अंगमा फैलिएको रहेछ भने ज्यानलाई खतरा हुने र उपचार गर्न पनि जटिल हुन जान्छ । तर सुरु अवस्थामा यदि उपचार सुरु गर्ने हो भने यसको पूर्ण निर्मूलीकरण सम्भव छ । हाम्रो देशमा सार्कोमाका बारे कुनै आधिकारिक तथ्यांक नभएकाले यी अंकसँग दाँज्न सकिन्न । तर आजको दिनमा सार्कोमाको उपचार नेपालमै संभव छ । आगामी दिनमा व्यवस्थित रुपमा यसको उपचार गर्न सक्यौं भने हामीले पनि पश्चिमा मुलुकमा जस्तै राम्रो नतिजा दिन सक्छौं ।
पहिलो कुरा, सार्कोमा जटिल क्यान्सर भएकाले यसको उपचार सार्कोमासँग सम्बन्धित विशेषज्ञ उपलब्ध हुने अस्पतालमा हुनुपर्छ । दोस्रो कुरा, सार्कोमाको उपचारका लागि दातृ निकायसँग सहकार्य गरी राष्ट्रिय कोष खडा गर्नु आवश्यक छ । विकसित मुलुकमा विभिन्न गैरसरकारी कोषहरुले सफलतापुर्वक सार्कोमा उपचार र अध्ययनमा सशक्त भूमिका निर्वाह गरेका प्रशस्तै उदाहरण छन् । तेस्रो कुरो, नेपालमा पनि सरकारीस्तरबाट अरु अंग झै हाडजोर्नी दान तथा हड्डीको बैंक अर्थात् बोन बैंक विकसित गर्नु आवश्यक छ । चौथो र सबभन्दा महत्वपूर्ण कुरा चाहिँ सचेतना हो । यो चिकित्सक तथा बिरामी दुवैमा हुनु जरुरी छ । बिरामीले शंकास्पद गिर्खाको समयमै जाँच गराउने र चिकित्सकले पनि गिर्खा सार्कोमा हुन सक्ने शंकालागेमा विशेषज्ञलाई रिफर गर्नुपर्छ ।